काठमाडौँ । आगामी आर्थिक वर्षदेखि काठमाडौं महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई शुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ ।
शुक्रवार काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बोलन्द्र साहले यस्तो घोषणा गरेका हुन् ।
उनले काठमाडौं महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धि कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तिमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैंकमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइने बताए ।
उनले महानगर क्षेत्रका सहकारी संस्थाहरुको कारोबारलाई विद्युतीय प्रणालीमा आवद्ध गरी थप व्यवस्थित बनाइने उल्लेख गरे ।
उनले सहकारी सूचना केन्द्रको स्थापना गरी वचत संकलन ऋण परिचालन तथा संस्थाको सुशासन कार्यलाई प्रभावकारी बनाइने जानकारी दिए । मेयर साहले विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुदलाई पूर्वप्राथमिक तहदेखि अनिवार्य गरिने बताए ।
उनले सबै स्रोत केन्द्रमा कम्तीमा एक जना मनोपरामर्शदाता र एक जन नर्सको व्यवस्था गरिने उल्लेख गरे । उनले पूर्वप्राथमिक तहका कक्षा कम्तीमा दुई तहमा सञ्चालन गर्ने व्यवस्था मिलाउँदै विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नसक्ने खालको क्षमता विकास गर्न सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक गुणस्तर सुधार गरिने जानकारी दिए ।
सामुदायिक विद्यालयहरुको दिवा खाजाका लागि डाइट योजना सहितको मापदण्ड लागू गरिने उनले घोषणा गरे । मेयर साहले २ सय भन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा सेन्टर किचनको अवधारणा ल्याउने बताए ।
उनले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गैरसरकारी संस्थाहरुबाट उपलब्ध गराउदै आएको छात्रावृत्तिलाई काठमाडौं महानगरपालिकाको एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाइने जानकारी दिए ।
उनले अटिजम भएका विद्यार्थीलाई लक्षित गर्दै विशेष विद्यालय स्थापना गरी सञ्चालन गरिने उल्लेख गरे । उनले विद्यार्थीहरुलाई पढ्दै कमाउँदै अवधारणा बमोजिम पाट टिइम काम गर्नेगरी रोजगारी सिर्जनाका लागि आवश्यक प्रवन्ध मिलाइने घोषणा गरे ।