काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली काँग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाएका छन्।
बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा एमाले देशका लागि काम गर्न नदिनका लागि काँग्रेसले एमालेमाथि आक्रमण गरिरहेको आरोप लगाए। उनले राम्रा काम गर्न नदिन अनर्गल प्रचार प्रसार गरिरहेको बताए ।
उनले पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोढ टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्न समेत गरे । उनले अहिले गिरिबन्धु टि स्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुँइया मच्चाइरहेको बताए ।
कानून, नियम बिना बलजफ्ती बिक्री गरेर गिरिबन्धु टि स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको उनको आरोप छ । उनले वैचारिक संघर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको बताए ।
अध्यक्ष ओलीले एमालेभित्र एकताका लागि ठाउँ रहेको भन्दै फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको बताए । उनले मिसन ०८४ देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याएर देशको विकास गर्नका लागि रहेको बताए।
