काठमाडौँ । नेकपा एमालेका सांसद एवं सचिव योगेशकुमार भट्टराईले सरकारको विपद्पूर्वतयारी सन्तोषजनक नरहेको बताएका छन्।
बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसम प्रतिकुल हुँदै जाने, त्यसको असर आम मानिसहरुमा परिरहेको बताए । उनले विपद् पूर्वतयारीबारे सरकारको तयारी सन्तोषजनक नरहेको बताए।
उनले विपद् प्राधिकरणलाई पर्याप्त बजेट नपुगेको बताए । प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्याइएको र १५ करोड साधारण खर्च रहेको भन्दै प्राधिकरणले सो बजेटमा कुनै काम गर्नसक्ने अवस्था नरहेको उनको भनाइ थियो । विपद् उद्धारका लागि दक्ष जनशक्ति र पर्याप्त श्रोत साधन पनि नरहेको भट्टराईले बताए ।
उनले भने, ‘जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसमहरु प्रतिकुल हुँदै जाने, त्यसको असर आम मानिसहरुमा परिरहेको छ । तर त्यस आधारमा हाम्रो नेपालको, विशेष गरीकन सरकारको तयारी त्यति सन्तोषजनक छैन । विपद् प्राधिकरण बनाएका छौँ, यो कामको निम्ति, जम्मा वार्षिक १८ करोड बजेट विपद् प्राधिकरणलाई दिइएको छ, जसमा १५ करोड साधारण खर्च छ । तल भत्ता, पारिश्रमीकमा छ । जम्मा ३ करोड रुपैयाँले विपद् प्राधिकरणले के गर्नसक्छ ? त्यसै गरीकन हामीसँग दक्ष जनशक्ति छैन । हामीसँग आधुनिक साधनहरु छैनन् । जसले समयमै उद्धार हुनसक्ने अवस्थामा पनि हामीले गर्न सकिरहेका छैनौँ । सरकारले गर्न सकिरहेको छैन ।’
सचिव भट्टराईले भूकम्पलाई छोडेर बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक विपत्तिबाट वार्षिक ५ सय मानिसको अकालामा मृत्यु हुने गरेको भन्दै सरकारले गम्भीरताका साथ व्यवस्थापन गर्न माग गरे ।