काठमाण्डौ । प्रमुख तीन राजनीतिक दलबीच छिट्टै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएका छ ।

सिंहदरबारमा बुधबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठकले स्थानीय तहको निर्वाचनका लागि सहमति गरेको बैठकमा सहभागी नेताले बताएका छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा प्रमुख दलबीच घनिभूत छलफल भएको र मधेसी मोर्चासँग छलफल गरी एक साताभित्रै मिति तोक्ने सहमति भएको जानकारी दिनुभयो ।
स्थानीय तहको पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन तयार गरिसकेकाले स्थानीय तहको नै निर्वाचन गर्नुपर्नेमा बैठकमा सहभागी नेताहरुले जोड दिएका थिए ।
बैठकमा वर्तमान राजनीतिक गतिरोधको गाँठो फुकाइ अघि बढ्ने र त्यसका लागि संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव, स्थानीय तहको पुनःसंरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने र निर्वाचनसम्बन्धी विधेयक पारित गरी निर्वाचनको मिति तोक्ने सम्बन्धमा छलफल भएको थियो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सत्तारुढ दलका तर्फबाट संसद् खोल्न गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष दलले अस्वीकार गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रक्रियाअनुसार अघि बढ्नका लागि संसद् खोल्न आग्रह गर्नुभयो तर एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्भव छैन भन्नुभयो ।’
बैठकमा एमालेका नेताले निर्वाचनको विषयमा सहमति जनाए पनि संशोधनको प्रस्ताव फिर्ता नभएसम्म संसद् खोल्न नसकिने अडान राखेका थिए ।
बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले सरकारले एकतर्फी रुपमा संशोधनको प्रस्ताव ल्याएर निषेधको राजनीतिक गरेको आरोप लगाउँदै संशोधन प्रस्ताव मुलुक र जनताको हित विपरीत भएकाले मान्न नसकिने बताउनुभयो ।