झापा । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि स्टेट प्रा.लि.का सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पती नभएको बताएका छन्।
बुधवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टि स्टेट राज्यको सम्पती नभएको बताएका हुन् । उनले पत्रकारहरूसामु गिरीबन्धु टि स्टेट आफ्ना बाबु-बाजेले आर्जेको सम्पती भएको र त्यो सम्पती राज्यको नभएको बताए । उनले आफ्नो निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाइएको दाबी गरे ।
२०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुनअघि नै गिरीबन्धुले चिया खेती बिस्तार गरेको गिरीको भनाइ थियो । हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको उनले बताए ।
सर्वोच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको उनले बताए । एकै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गाको कारोबार शुरु गरेको गिरीले स्वीकार गरेका छन् । दीपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा विषयमा कारोबार भएको उनले बताए।
