काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन्।
आइसीसी टि २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उन यस्तो बताएका हुन् । उनले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए ।
उनले श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताए । उनले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने दाबी गरे ।
उनले भने, ‘वेस्टइण्डिजको पिच एकदमै स्पिनरका लागि राम्रो छ । विकेटटेकर बलर एड भएको छ, अनुभव पनि छ, दाईको टि २० मा । अब राम्रो हुनेछ । श्रीलंका टिम राम्रो छ । हामीलाई भन्दा बढी प्रेसर श्रीलंकालाई छ जस्तो लाग्छ मलाई । धेरैजसो डट बल भइरहेको छ । १४० बनाउनसक्यो भने जित्ने सम्भावना हुन्छ । शुरुवाती ब्याट्सम्यानले राम्रो गर्नसके सबैमा आत्मविश्वास आउँछ । हामी बलियो टिम र भोलिको गेमलाई लिएर उत्साहित छौँ । यो टुर्नामेण्ट अप डाउन भइरहेको छ । प्रेसरलाई सहेर खेल्ने टिमले नै जित्छ ।’
कप्तान पौडेलले श्रीलंकासँगको खेललाई लिएर टिम उत्साहित रहेको बताए ।
