काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदूत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्याउन नसकेको बताएका छन्।
सोमवार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भए पनि ध्यान नपुगेको स्वीकार गरे । शर्माले भारत भ्रमणका क्रममा सक्रिय भूमिका खेलेको उनले बताए।
उनले भने, ‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो । र सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो । मैले धन्यवाद पनि भनेर आएको छु । यो त्यही बेला पर्नु संयोग हो । त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रस्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो ।’
उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संसद विघटन बाध्यता भएको धारणालाई लिएर सरकारमा कुनै नराम्रो हुने स्थिति नरहेको बताए ।
उनले ओलीले सो धारणा सधैँ राख्दै आएका र पार्टीको कार्यक्रममा उक्त धारणा राख्नुलाई सामान्य रुपमा लिएको बताए।
