काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन्।
आइतवार काठमाडौंमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गरे ।
उनले नेकपा एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने बताए । उनले नेकपा (माओवादी केन्द्र) को समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने बताए ।
नेपालमा समाजवादी क्रान्ति नेकपा (एकीकृत समाजवादी) ले मात्रै ल्याउनसक्ने उनको भनाइ थियो । पार्टीको १० औं महाधिवेशनले समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्ने उनले बताए ।
महासचिव भुषालले समाजवादी क्रान्तिका योजना र कार्यक्रमहरु २०७५ सालमै गर्नुपर्ने भए पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पार्टीको नवौं महाधिवेशनमा पराजित हुँदा सम्भव नभएको जिकिर गरे ।
