काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गरेका छन्।
आइतवार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेले मार्क्सवाद, लेनिनवाद भन्दा पहिला जबज लेखेर आजको समाजवादी क्रान्तिको युगमा लाजमर्दो काम गरेको जिकिर गरेका हुन् ।
उनले समाजवादका कुरा गर्नेहरुले त्यसको वैचारिक र सैद्धान्तिक चुनौतिहरुलाई पहिचान गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए ।
सम्मानित नेता खनालले एमाले अध्यक्ष केपी ओलीलाई बुर्जुवा विचारले अधोपतनतिर रुपान्तरण गरिदिएको दाबी गरे । १४ वर्ष जेल बसेका ओलीले अहिलेको समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त मानेर अधोपतनको बाटोमा लागेको सम्मानित नेता खनालको भनाइ थियो ।
उनले भने,‘बुर्जुवा विचारहरु कम्युनिष्ट पार्टीमा पलपलमा छिरिरहेका छन् । अनि हामीले वैचारिक संघर्ष गरेनौ भने हामीलाई नै तिनीहरुले रुपान्तरण गरिदिन्छन् । नेताहरुलाई नै रुपान्तर गरिदिन्छन । केपी ओलीमा आएको यो अधपतन रुपान्तरण हो कि होइन ? अधपतन हो कि होइन ? त्यो अधोपतन हो नि । १४ वर्ष जेल बसेका मान्छे । अहिले समाजवादी क्रान्तिको युगमा जबज हाम्रो मार्गदर्शक सिद्धान्त हो भनेर हिँडिरहेका छन् । लज्जास्पद कुरा हो । लाजमर्दो कुरा हो । माक्र्सवाद लेनिनवाद पनि होइन । सबभन्दा पहिला के आउँछ ? भन्दा जबज । त्यो भएको हुनाले आज हामीले यो समाजवादी कुरा गर्दाखेरी हाम्रा सामू केही चुनौतिहरु छन् । वैचारिक सैद्धान्तिक चुनौतिहरु छन् । ती सैद्धान्तिक चुनौतिहरुलाई हामीले ठिक ढंगले पहिचान गर्नुपर्छ ।’
सम्मानित नेता खनालले एमालेसँगको भिन्नतालाई स्पष्ट पारेर मात्रै पार्टीलाई अघि बढाउन सकिने पनि बताए ।
