झापा । वैदिक सनातन धर्म संरक्षण समिति झापाको आयोजना कनकाई कोटीहोममा तीन दिने वैदिक सनातन धर्म संरक्षणको विषयमा चिन्तन मन्थन कार्यक्रम शुक्रबारबाट सुरु भएको छ।
कार्यक्रम आइतबार समापन हुने वैदिक सनातन धर्म संरक्षण समिति झापाले जनाएको छ। कार्यक्रममा भाग लिन आएका ब्राह्मणहरूका लागि आवासीय व्यवस्था मिलाइएको समितिका पदाधिकारीले जानकारी दिएका छन्।
शुक्रबार सुरु भएको कार्यक्रममा बोल्दै कनकाई धाम समितिका अध्यक्ष शेरबहादुर थापाले कर्मकाण्ड गर्दा वा गराउँदा देखिएका समस्यालाई निराकरण गर्न जरुरी रहेको बताए।
कार्यक्रममा बोल्दै पण्डित छन्दुराम भण्डारीले एकादशी ब्रत लिने परम्परामा पनि विवाद देखिएको बताए। यस्ता धेरै विवादलाई समाधान गर्नेमा चिन्तन मन्थन कार्यक्रम प्रभावकारी बन्ने उनले विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै सुनसरी धरानमा रहेको पिण्डेश्वर क्याम्पसका प्राध्यापक दिपक पराजुलीले नेपालमा धर्मशास्त्र विषयका विज्ञ कम भएकाले व्यवहारिक समस्याका विषयमा निर्णय लिन अत्यन्त कठिन हुने गरेको बताए।
चिन्तन मन्थन कार्यक्रममा दैनिक ३ सय भन्दा माथि ब्राह्मण तथा पुरोहितहरूको उपस्थिति रहने समितिका झापा अध्यक्ष रामप्रसाद ओझाले जानकारी दिए।
खासगरि झापा, मोरङ तथा सुनसरी जिल्लाबाट कार्यक्रममा सहभागिता रहेको उनले बताए। कार्यक्रममा सबै सम्प्रदायका विशिष्ट विद्वानहरूलाई समस्याका निराकरणका लागि निर्णायकको रुपमा राखिएको समितिका अध्यक्ष ओझाले बताए।
