झापा । मनसुन क्रम भित्रिने दिन नजिकिएसँगै झापामा विपद्को सामना गर्नका लागि पूर्व तयारीका काम तिब्र बनाइएको छ।
मनसुन नभित्रिँदै अकास्मात हुने बर्षाले क्षति गर्न थालिसकेको छ। यही बेलामा जिल्ला विपद् व्यवस्थापन समितिले विपद्सँग लड्नका लागि पूर्व तयारी तिब्र बनाएको हो।
झापा जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तिब्र गतिमा भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए।
जिल्ला विपद् व्यवस्थापन समिति झापाले मेचीनगर १३ र १४ मा रहेको निचाझोडा सिमसार क्षेत्रमा मंगलबार गरेको विपद् सम्बन्धी संयुक्त अभ्यासका क्रममा प्रमुख जिल्ला अधिकारी बास्तोलाले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्यांक संकलन गर्ने, पालिकाहरूमा ‘फोकल पर्सन’ तोक्ने र विपद् व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिए।
झापाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा ६ वटा पालिका रहेका छन्। विशेषगरी पूर्वपश्चिम राजमार्ग दक्षिणका पालिकाका अधिकांश भाग बर्षेनी डुबानमा पर्ने गरेका छन्।
गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेका छन् ।
यस वर्ष धेरै वर्षा हुने मौसम विभागको प्रक्षेपणअनुसार विपद्को सामना गर्न विपद्को संयुक्त अभ्यास गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए।
मंगलबार गरिएको संयुक्त विपद् उद्धार अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वास्थ्य कार्यालय झापा तथा नेपाल रेडक्रस सोसाइटी झापाको टोली खटिएका थिए।
