काठमाडौँ । नेपाली काँग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनीमुन सिटी बनाउन माग गरेका छन्।
सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनीमुन सिटी बनाउनुपर्ने बताए ।
उनले नवविवाहित जोडीहरु घुम्न जाने शहरको रुपमा हनीमुन सिटी बनाउनुपर्ने बताएका हुन् । त्यस्तै रारा तालमा १ हजार जोडी अट्ने हनीमुनसीप बनाउनुपर्ने पनि उनको भनाइ छ ।
उनले भने, ‘यसमा एउटा कुरा अझै पुगेन । वेडिङ हब्स पनि भयो । बर्थिङ हब्स पनि भयो । अब एउटा हनीमुन हब्स भएन । हनीमुन सिटी भएन । हनीमुन सिटी पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ ? चितवनको सौराहामै हनीमुन सिटी बनाइदिउँ । विवाहित जोडीहरु त्यहाँ जान्छन् । नव दुलाहा, दुलही त्यहाँ जान्छन् । हात्ती चढ्छन् । घुम्छन् । त्यसैले हनीमुन सिटी । रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनीमुनसीप बनाइदिउँ । १ हजार जोडी अट्ने सीप बनाइदिउँ । हनीमुनसिपमा गएर हनिमुन मनाउँछन् । के फरक पर्छ ? यसरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ । अर्को कुरा भन्नैपर्छ । नो नट अगेन भ्यु टावर । डाडाँमा भ्यु टावर बनाएका छौँ भएको डाँडालाई खत्तम बनाएका छौँ । त्यसैले नो नट अगेन भ्यु टावर भन्नु आवश्यक छ ।’
उनले गाँजाबाट औषधिजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्नसके बाट २ खर्ब राजश्व उठ्ने बताए । त्यस्तै घरेलु मदिराको ब्राण्डिङ गरे २ खर्ब रुपैयाँ, जडिबुटी खेतीबाट २ खर्ब रुपैयाँ र गैरकानूनी कारोबार बन्द गरेमा २ खर्ब रुपैयाँ राजस्व उठ्ने बताए ।
