काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए काँग्रेस चुनौति सामना गर्न तयार रहेको बताएका छन् ।
आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने उनले बताए । उनले जनतका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिटै सकिने जिकिर गरे ।
उनले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसदमा निरन्तर उठाउनुपर्ने बताए । उनले काँग्रेससहितका प्रतिपक्ष दलहरुले संसदमा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न काँग्रेस तयार रहेको बताए ।
सरकार पेलेर जाने हो भने काँग्रेस सहेर नबस्ने चेतावनी दिए । उनले काँग्रेसले आफू मात्रै अन्याय भएको महशुस नगरेको भन्दै आम जनतामा अन्याय भएको कुरा काँग्रेसले उठाएको बताए ।
