काठमाण्डौं । स्थानीय तहको निर्वाचनको मागसहित सर्वाेच्च अदालतमा दायर रिट निवेदनमा आज ६ जना कानुन व्यवसायीले अदालतको सहयोगी (एमिकस क्युरी) का रूपमा बहस गर्ने भएका छन् ।

नेपाल बार एसोसिएसन र सर्वाेच्च अदालत बार एसोसिएसनले तीन–तीन जना कानुन व्यवसायीलाई एमिकस क्युरीको रूपमा सिफारिस गरेको छ । एमिकस क्युरीले स्थानीय निकायको निर्वाचन संविधानतः मिल्ने नमिल्ने विषयमा तटस्थ रूपमा बहस गर्नेछ ।
न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र हरिकृष्ण कार्कीको इजलासले गत बुधबार नेपालको संविधानको धारा ३०३ बमोजिम स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न सकिने हो वा होइन भन्ने सम्बन्धमा गम्भीर संवैधानिक प्रश्न समावेश भएको भन्दै नेपाल बार र सर्वाेच्च बारबाट तीन–तीनजना एमिकस क्युरी बोलाउने आदेश गरेको थियो ।
नेपालको संविधानबमोजिम स्थानीय तहको संख्या र क्षेत्र निर्धारणमा लामो समय लाग्ने सम्भावना रहेको दाबी गर्दै अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले स्थानीय तहको संख्या र क्षेत्र निर्धारण नभएसम्म स्थानीय निकायको निर्वाचन गराउन सरकारको नाममा आदेशको मागसहित रिट निवेदन दर्ता गराउनुभएको थियो ।