काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन्।
बिहीवार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताए ।
उनले नेपाली काँग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रका बिरुद्ध खनिएको भन्दै आपत्ति जनाए ।
उनले काँग्रेस जस्तो पार्टी रवि लामिछानेको बिरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गरे ।
उनले लामिछाने राजनीतिमा आएको एक वर्ष भएको बताए । उनले काँग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रस्ताव गर्ने र प्रस्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अर्घेल्याइँ गरेको आरोप लगाए ।
संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा संसदमा बोल्न नहुने उनले बताए ।
अध्यक्ष ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताए। उनले सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो ? भन्दै प्रश्न समेत गरे । नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा बुझ्न नहुने उनको भनाइ थियो ।
