काठमाडौँ । गत फागुन महिनादेखि तलव नपाएपछि गिरीबन्धु टी स्टेटका मजदुर आन्दोलनमा उत्रिएका छन्।
शनिवार र्यालीसहित तलव भुक्तानीको माग गर्दै चिया मजदुरहरूले पहिलो चरणको आन्दोलन सुरु गरेका हुन्।
मजदुर क्वाटरबाट सुरु भएको र्याली बिर्तामोड बसपार्क प्रवेश गर्ने ठाउँमा कोणसभा गरिएको थियो। श्रमिकको पारिश्रमिक भुक्तानी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, हदबन्दी छुटको जग्गा फिर्ता गर्नुपर्ने लगायतका माग गर्दै र्याली सम्पन्न गरिएको थियो।
नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ गिरीबन्धु इकाई कमिटीले आयोजना गरेको आन्दोलनको कार्यक्रममा मजदुर नेताहरुले श्रमिकको ज्याला तुरुन्त भुक्तानी दिन माग गरेका छन्।
मजदुर नेता सईकुमार राईले मजदुरहरु रहरले नभइ बाध्यताले सडकमा आउनुपरेको बताए। उनले भोको पेटमा श्रमिकहरु बाँच्न बाध्य भएको बताए।
उनका अनुसार पारिश्रमिक उपलब्ध गराई पाउँ भन्दै जिल्ला प्रशासन, श्रम कार्यालय, बिर्तामोड र अर्जुनधारा नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो।
ज्ञापनपत्र बुझाउन पनि व्यवस्थापक तथा सञ्चालकहरुले मजदुरको भुक्तानी नगरेको उनको भनाइ छ।
अढाइ महिनादेखि भोकै बस्न बाध्य मजदुरहरु कठोर आन्दोलनमा जाने चेतावनी दिएका छन्। मजदुर नेता राईले श्रम कानुन मिच्ने दलाल व्यवसायीहरुलाई राज्यले जरिवाना गर्दै जेल हाल्नुपर्ने माग गरेका छन्।
गिरीबन्धु टी–स्टेट मास्न सक्रिय दलालहरुका कारण मजदुरहरु समस्या परेको उनको भनाइ थियो। ‘त्यस्तो समूहकै कारण बगान क्षेत्रको विकास रोकिएको छ, ‘ उनले भने, ‘विगतमा ५ सय मजदुर काम गर्ने बगानमा अहिले १७० मात्रै मजदुर कार्यरत छन्।‘
राज्यको जमिन हडप्ने, महंगो मुल्यमा जमिन बेच्नेहरुलाई मजदुरले साथ नदिने राईको धारणा छ।
