काठमाडौँ । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नाराबाजीकाबीच सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट आएको पत्र वाचन गरेर सुनाएका छन्।
प्रतिनिधि सभा बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरु नाराबाजी गर्दै वेल घेराउ गर्न आएका थिए । सभामुख घिमिरेले बैठकमा शुन्य र विशेष समय नरहेको जानकारी गराउँदै राष्ट्रपतिबाट आएका पत्रहरु सुनाउनुपर्ने रहेको बताए ।
उनले राष्ट्रपतिलाई जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद ज्ञापन गर्नु र अध्यादेशबाट आएका कानुनलाई टेबुल गर्नु पनि संसदको काम रहेकाले अवरोध नगर्न आग्रह गरेका थिए ।
तर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले संसदीय समिति गठनको माग गर्दै गरिएको नाराबाजी नरोकेपछि सभामुख घिमिरेले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक प्रमाणिकरण गरिएको पत्र पढ्नुभयो । लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाउनु भयो ।
पत्र पढिरहँदा अन्य प्रतिपक्ष दलहरु लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समेतले उठेर विरोध जनाएका थिए ।
सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएसँगै संसदमा होहल्ला भएको थियो भने नाराबाजी अझै बढेको थियो । सत्तापक्षका सांसदहरु समेत उठेर प्रतिपक्षि सांसदहरुको प्रतिवाद गर्न थालेपछि संसद बैठकलाई सभामुखले शुक्रवार बिहान ११ बजे बस्नेगरी स्थगित गरे ।
