काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको बताएका छन्।
बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३१ औं मदन—आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहुनुले पनि भण्डारीलाई मारेर पछि नदीमा दुर्घटनाका रुपमा फालिएको दाबी गरे ।
उनले मदन—आश्रितको मृत्यु दुर्घटनाबाट नभइ निर्ममतापूर्वक गरिएको हत्या भएको बताए । उनले दुवै नेताको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै ३० वर्ष होस् की सय वर्ष हत्या, हत्या नै हुने बताए ।
नेता खनालले मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गरेको बताए। उनले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाईमा उठाउनका निम्ति लगातार प्रयत्न गर्ने नेताहरु रहेको भन्दै स्मरण गरे ।
