काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझै माथि पुर्याउने विश्वास व्यक्त गरेका छन्।
उच्च अदालत पाटनबाट बलात्कारको मुद्दामा सफाइ पाएपछि बुधवार पत्रकार सम्मेलनका क्रममा क्रिकेटर लामिछानेले यसअघि नेपाललाई जहाँ पुर्याएको थियो, त्यो भन्दा पनि माथि पुर्याउन प्रयास गर्ने प्रतिक्रिया दिएका हुन्।
गौशाला २६ ले आफूमाथि बलात्कार भएको भन्दै लगाएको मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको थियो। सोहीविरुद्ध सन्दीप उच्च अदालत गएका थिए। बुधवार उच्च अदालतले काठमाडौंको फैसला बदर गरेको हो।
त्यससँगै पत्रकार सम्मेलनमा सन्दीपले यो मुद्दा खेपेको साढे एक वर्षभन्दा बढी समय भएको र आरोप लागेको पहिलो दिनदेखि नै आफू निर्दोष रहेको बताउँदै आएकोसमेत बताए।
उनले आफूलाई धेरै तवरबाट फसाएर नभएको अपराधको दोषी बनाइएको दाबी गरे।
तथापि, अहिले न्याय पाएको उल्लेख गर्दै उनले यसअघि अदालतको फैसलालाई सम्मान गरेको र अहिले उच्च अदालतलाई पनि सम्मान गर्ने उनले बताए।
उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले जिल्ला अदालतले गरेको फैसला पूर्ण रूपमा उल्ट्याएको उल्लेख गर्दै उच्च अदालतले सफाई दिएको जानकारी दिए।
साथै प्रवक्ताले गौशला २६ नाबालिक नरहेको पनि फैसलामा उल्लेख भएको बताए। सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले मुद्दा जाहेरीकर्ताप्रति पनि सम्मान गर्न सबैमा आग्रह गर्दै उहाँको आत्मसम्मानमा ठेस पुग्ने किसिमका अभिव्यक्ति नदिन आग्रह गरे।
