काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताएका छन्।
मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताएका हुन् ।
उनले सबै मन्त्रालयले नयाँ कुराहरु लिएर आएको भन्दै गृह मन्त्रालय अन्तर्गत प्रहरी कर्मचारीको निवृत्तिको समयलाई पुनरावलोकन गर्ने र बढुवा अनुमानयोग्य बनाउने कुरा नयाँ भएको बताए ।
उनले खुला कारागारको कुरा पनि नयाँ भएको बताए । गृहमन्त्री लामिछानेले नीति तथा कार्याक्रम कार्यान्वयनमा गएपछि मात्रै थप भन्न सकिने प्रतिक्रिया दिए ।
उनले भने – ‘नयाँ कयौँ कुरा आएका छन् । शिक्षा, श्रम, खानेपानी, कानून मन्त्रालयमा तपाई हेर्न सक्नुहुन्छ । गृहमा हामीले सबै तहका प्रहरी कर्मचारीहरुको सेवा निवृत्त समयलाई पुनरावलोकन गर्ने कुरा आयो । अनुमानयोग्य बढुवाका कुरा नयाँ आएको छ । खुला जेल जहाँ श्रम गर्न सकिने, उद्योग गर्न सकिने कुरा आएका छन् । कतिपय पुराना कुराको निरन्तरता छ । तर धेरै नयाँ कुराहरु आएका छन् । मुल कुरा कार्यान्वयनको चरणमा जाने कुरामा हामीले ध्यान दिनुपर्छ । सिद्धान्त र प्राथमिकतासँग नीति, कार्यक्रम मिल्नुप¥यो । नीति, कार्यक्रमसँग बजेट मिल्नुप¥यो । यो सिलसिला जुन छ, यसपटक कम्लिट नहेरी अहिले भन्न सकिँदैन । सिद्धान्त र प्राथमिकतादेखि सिलसिलेवार रुपमा आएर कार्यान्वयनको चरणमा जान्छ, त्यतिखेर चाहीँ प्रश्नहरु सान्दर्भिक होलान् ।’
संसदको रमिता कहिले हट्ला भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लामिछानेले काँग्रेसलाई सोध्नुपर्छ भन्ने जवाफ दिए ।
