काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलका शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्न नसकिने बताएकी छिन्।
आइतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै मन्त्री श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुको प्रतिवद्धताबिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्न नसकिने बताएकी हुन् ।
उनले आफूले त्रिभुवन विश्वविद्यालयको सुधारका लागि राजनीतिक दलका शिर्ष नेताहरुसँग अनौपचारिक रुपमा छलफल गर्न चाहेको भए पनि समय नपाएको बताइन् । उनले विश्वविद्यालयलाई दलीय राजनीतिकरण नगर्नका लागि दलहरु सहमत भएमा विश्वविद्यालयमा सुधार सम्भव हुने बताइन् ।
उनले विश्वविद्यालयलाई राजनीतिबाट अलग राख्न सहयोग गर्न सांसदहरुलाई आग्रह पनि गरिन् । उनले विश्वविद्यालयलाई दलीय राजनीतिमुक्त क्षेत्र बनाउने प्रतिवद्धता गर्नुपर्ने बताइन् ।
मन्त्री श्रेष्ठले प्रशासन र कर्मचारीहरुको दलीय आवद्धताका कारण पनि काम गर्न गाह्रो भएको बताइन् ।
उनले एउटा कर्मचारीलाई सरुवा गर्दासमेत धम्की आउने गरेको सुनाइन्। उनले विद्यार्थी संगठनका नेताहरुले मौखिक रुपमा त्रिविमा अनावश्यक राजनीतिकरण नगर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्दै कर्मचारी प्रशासनको सन्दर्भमा भने एउटा निचोडमा पुग्नुपर्ने आवश्यकता रहेको बताइन् ।
