काठमाडौँ । संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग गर्नुभएको छलफल पनि बिना निष्कर्ष सकिएको छ ।
आइतवार अपरान्ह सिंहदरबारमा बोलाइएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतकहरुको बैठकमा पनि काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान दोहोर्याएपछि बैठक बिना निष्कर्ष सकिएको हो ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान राखेको थियो । सहकारीमा भएको अर्बौंको ठगीको विषयमा उपप्रधानमन्त्री लामिछानेको पनि संलग्नता रहेको हुनाले सो विषयमा संसदीय छानविन समिति गठन नगरेसम्म संसद चल्न नदिने कुरा बैठकमा पार्टीको अडान प्रश्तुत गरिएको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
उनले सो विषयमा छानविन गर्न उचित थलो संसद भएकाले त्यहीबाट समाधान गर्नुपर्छ भन्ने पार्टीका स्पष्ट मान्यता रहेको उल्लेख गर्दै त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सरकारमा भरपर्ने बताए ।
