काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दाबी गरेका छन् ।
जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
तर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानविन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री दाहालले आइतबार बिहान काँग्रेस नेतृत्वसँग गम्भीरतापूर्वक छलफल गरेको र सोमबार बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढने वातावरण बन्ने विश्वास व्यक्त गरे ।
उनले काँग्रेससँग सहमतिको ढोका खोल्नका लागि आफूले गम्भीरतापूर्वक छलफल गरेको पनि स्पष्ट पारे । आइतवार दिउँसो राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमपछि संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री दाहालले काँग्रेससँग सोमवार (भोलि) बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने बताए।
प्रधानमन्त्री दाहालसँगको भेटपछि नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री उपप्रधानमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउन प्रधानमन्त्री दाहाल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।
