काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको बताएका छन्।
पार्टीको काठमाडौँ महानगरपालिका कमिटीले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसदमा गर्न उपप्रधानमन्त्री लामिछानेलाई नदिएको जिकिर पनि गरे । उनले आफूले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव नमान्दा उपप्रधानमन्त्री लामिछाने कसरी सहकारीको भ्रष्टाचारी भयो ? भनि प्रश्न समेत गरे ।
उनले काँग्रेसले सत्ता स्वार्थको लागि उपप्रधानमन्त्री लामिछानेले सहकारीमा ठगी गरेको भन्दै हिँडेको पनि बताए । काँग्रेसले उपप्रधानमन्त्रीमाथि सहकारी ठगीको आरोप लगाएपनि त्यसको खण्डन गर्नका लागि संसदमा बोल्न नदिएको ओलीको भनाइ थियो ।
उनले नेपाली काँग्रेस लोकतान्त्रिक शक्ति नभएको भन्दै सत्ता स्वार्थको लागि जे पनि गर्न थालेको टिप्पणी गरे ।
