काठमाडौँ । नेकपा (एकीकृत समावादी) की सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बताएकी छिन्।
बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले संघीयता सबलीकरणका लागि शासकीय स्वरुप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको बताइन्।
उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली नफेरिकन कतै नपुगिने दाबी गरिन्। उनले संघीयताले पूणर्ता पाउने कुरामा आफू विश्वस्त नरहेको भन्दै संघीयता कहिलेसम्म हो भन्नेकुरामा शंका रहेको बताइन् ।
स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक रहेको पनि उनले बताइन्। उनले समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रिय सभामा फेरि ५९ जना किन चाहियो भन्ने प्रश्न गरिन्।
उनले राष्ट्रिय सभामा ५९ जना कायम राख्ने हो भने समानुपातिक प्रणाली हटाउनुपर्ने बताइन्।
