इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत भएको मतदानमा आफ्नो जित निश्चित भएको नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले बताएका छन् ।
बिहान ७ बजेबाट सुरु भएको मतदानको परिणाम आफ्नो पक्षमा आउनेमा आफू विश्वास्त रहेको उनले बताए ।
इलाम २ मा नेकपा एमालेबाट उम्मेदवार रहेका नेम्वाङले मतदानपछि सञ्चारकर्मीसंग बोल्दै सो कुरा बताएका हुन् ।
उनले निर्वाचनको परिस्थितिले भावुक बनाएको पनि बताए । उनले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्दै भावुक भएको बताए ।
घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको उनको भनाइ थियो ।
इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ ।
४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।
