झापा- झापाका विभिन्न १३ वटा सहकारीमा भएको चोरीको घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिइ प्रहरीले चोरी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले उनीहरुको पहिचान खुलाउँदै चोरीमा संलग्नहरुलाई आइतबार म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।
१३ वटा सहकारीबाट ३० लाख १६ हजार ८७ रुपैयाँ चोरी गर्नेहरु अधिकांश मकवानपुरका नागरिक भएको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
झापासहित मोरङका सहकारीमासमेत चोरीका घटनामा उनीहरूको संलग्नता देखिएको छ ।
प्रहरीले बैशाख ७ गते इटहरीबाट ६ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङतान, २१ वर्षीय सन्त बहादुर स्याङतान, २२ वर्षीय सुनिल स्याङतान, २५ वर्षीय बुद्ध स्याङतान, २६ वर्षीय सुरज स्याङतान र गढी गाउँपालिका वडा नं. ८ का २८ वर्षीय अजय राना मगरलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरुको साथबाट दुई थान मोटरसाइकल, मोवाइल र चावी फुटाउन प्रयोग गरिएका सामग्री बरामद गरिएको छ ।
