काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको हिउँदे अधिवेशनमा कानून निर्माण र जनसरोकारका मुद्दा मुखरित गर्ने कार्य पर्याप्त नभएको बताएका छन् ।
सभामुख घिमिरेले आइतवार प्रतिनिधिसभा बैठकमा हिउँदे अधिवेशनमा (तेस्रो अधिवेशन) कानून निर्माण र जनताको मुद्दालाई सम्बोधन गर्ने विषयमा विगतका दुईवटा अधिवेशनभन्दा तुलनात्मक रुपमा उपलब्धिपूर्ण रहेको आफूले ठाने पनि पर्याप्त नभएको स्वीकार गरेका हुन् ।
उनले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निणर्यको आधारमा आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखि हुने विश्वाससमेत व्यक्त गरे ।
संसद जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले अभिव्यक्ति दिने प्रमुख संस्था भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुने उल्लेख गर्दै सभामुख घिमिरेले त्यसमा हुने बिरोध र बहस पनि स्वाभाविक रुपमा लिनुपर्ने स्पष्ट पारे ।
उनले संसदमा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भिरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्याउने पनि स्मरण गराए ।
संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पुर्याउनसके संघीय संसदको गरिमा र समयको उचित सदुपयोग हुन्छ भन्ने आफूले ठानेको सभामुख घिमिरेको भनाइ थियो ।
उनले संसद क्रियाशील र प्रवुद्ध भएमात्रै नीति निर्माणको कार्यमा गुणात्मक प्रभाव पार्नसक्ने बताए ।