सुनसरी । सुनसरीको चतरामा मंगलबारबाट बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला शुरु भएको छ ।
पूर्ण महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कुम्भ मेलाले सबै जातजाति र धर्मलाई एकै सूत्रमा बाँध्ने मात्र नभइ धार्मिक पर्यटन बिस्तारमासमेत टेवा पुग्ने बताए ।
उनले मेलाले आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने बताए । उनले मेलाले धार्मिक पर्यटकीय गनतव्यको विकास गर्ने कार्यमा योगदान पुग्ने बताए ।
राष्ट्रपति पौडेलले भने, ‘आन्तरिक तथा वाह्य पर्यटनको प्रवद्र्धन, विभिन्न जातजाति र धर्म,लिङ्ग र सम्प्रदायका व्यक्तिलाई एकै सूत्रमा बाँध्न सक्ने राष्ट्रियता,राष्ट्रिय एकता, स्वतन्त्रता,सार्वभौमिकताको संरक्षण, संवद्र्धन गर्न सकिने उद्देश्य राखेर आयोजना गरिएको कुम्भ मेला नेपालकै गौरव हो । गौरवपूणर् यो अवसरलाई सदुपयोग गर्दै धार्मिक पर्यटकीय गनतव्यको विकास गर्ने कार्यमा योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
कार्यक्रममा राष्ट्रपति पौडेललाई प्रथम जगद्गुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्यले नागरिक अभिनन्दन गरेका थिए । पूर्ण महाकुम्भको समुद्घाटन पूर्वजगद्गुरु बालसन्त मोहनशरण देवाचार्यसहित हिन्दु धर्मका गुरु तथा अगुवा सहितको उपस्थितिमा पहिलो महास्नान गरिएको छ ।
सुनसरीको चतरामा शुरु पूर्ण महाकुम्भ मेला वैशाख २८ गतेसम्म चल्नेछ । महिना दिनसम्म चल्ने महाकुम्भमा शङ्कराचार्य, वैष्णवाचार्य, जगद्गुरु, साधुसन्त, महन्त र धर्माचार्य एवं विद्वानहरुबाट धार्मिक प्रवचनका साथै अनुष्ठान, हवन लगायतका विधिविधान सहितका धार्मिक कार्यक्रम आयोजना हुने आयोजक बाह्रवर्षे पिण्डेश्वर पूर्व महाकुम्भ मेला मुल आयोजक समिति चतरा सुनसरीले जनाएको छ ।
कुम्भ मेलामा नेपालभरका साथै भारत र तेस्रो मुलुकबाट समेत हिन्दु धर्मका गुरु, अनुयायी तथा भक्तजनहरु आउने आयोजकको विश्वास छ ।
