काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।
सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ ।
यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए ।
उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए ।
सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलले ह्वीप जारी गरिसकेको, नागरिक उन्मुक्ति पार्टीलगायतका दल र सांसदले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक पर्दछ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आजको बैठकका लागि सम्भावित कार्यसूचीका रूपमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषय समावेश गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभामा विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावमाथि छलफलपश्चात निणयार्थ प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ ।
