काठमाडौँ । छोराहरू मात्र होइन, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय नै सुन तस्करीमा परिचालन भएको पुष्टि भएको छ । चीन र दुबईलगायत देशबाट भरियाले ल्याएको सुन तत्कालीन उपराष्ट्रपतिका परराष्ट्रविज्ञ जीवनकुमार गुरुङलाई बुझाउने गरेको प्रहरी अनुसन्धानबाटै खुलेको छ । अहिले भन्सारको थुनामा रहेका गुरुङविरुद्ध मुद्दा दायर गर्ने तयारी भएको छ भने पुनका पुत्रद्वय भने अहिले पनि कानुनको पहुँचबाहिरै छन् ।
गत मंसिर २१ मा तस्करी गरेर ल्याएको १४ किलो सुनसहित गोरखाका चन्द्र घले विमानस्थलबाट पक्राउ परेका थिए । तस्करीको जालो खोज्दै जाँदा अनुसन्धानकर्मीहरू गोरखाकै मीन घले हुँदै गुरुङसम्म पुगेका हुन् । सुन तस्करी प्रकरणमा संलग्नता भेटेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फागुन १४ मा उनलाई पक्राउ गरी छानबिन तथा अनुसन्धान गरिरहेको छ । उनी डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी प्रमुखसमेत हुन् ।
गुरुङ पक्राउ परेपछि तस्करीमा संलग्न माथिल्लो तहसम्मको खोजी गर्न अनुसन्धान अधिकृतलाई निर्देशन दिइएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गरेको छानबिन तथा अनुसन्धानअनुसार भरियाले ल्याएको सुन गुरुङले जिम्मा लिएर व्यवस्थापन गर्ने गरेको भेटिएको हो । ‘भरियाहरूले ल्याएको सुन गोरखाका मीन घले हुँदै गुरुङसम्म पुग्ने गरेको पुष्टि भएको छ, त्यसैले उपराष्ट्रपतिको सचिवालयबाटै गिरोह परिचालन हुने गरेको देखिएको छ, अहिले गुरुङविरुद्ध मुद्दाको तयारी छ,’ अनुसन्धानमा सहभागी भन्सारका एक अधिकारीले भने । कान्तिपुर दैनिकमा खबर छ ।
