काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण हुनु अपराधिक घटना भएको बताएका छन् ।
आइतवार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरुको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्षभित्र श्रेष्ठमाथि हातपात गरेका थिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना भएको बताए ।
उनले पार्टीले दोषीउपर कारबाही हुनुपर्ने निणर्य गरेको पनि बताए । उनले पार्टीले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निणर्य भएको बताए ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडी सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरुमा छलफल भएको उनले बताए ।
बैठकमा नवीन राप्रपा कार्ययोजनाको सन्दर्भमा पनि छलफलहरु भइराखेको उनले जानकारी दिए ।
