काठमाडौँ । मलेसियामा लुकेर बसेको विश्वासमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई नेपाल झिकाउन सरकारले कूटनीतिक पत्र पठाएको छ ।
पोखरास्थित सूर्यदर्शनसहित देशभरका आधा दर्जन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएलगत्तैदेखि उनी फरार छन् ।
विश्वका प्रहरीहरूको साझा संगठन इन्टरपोलको खोजी सूचीमा रहेका राई मलेसियामा लुकेर बसेको भन्ने आधारमा देश फर्काउन सरकारले कूटनीतिक पहल थालेको हो ।
नेपाल प्रहरीको अनुरोधमा राईलाई फरार सूचीमा राखेर इन्टरपोलले माघ १२ मा डिफ्युजन र माघ २९ मा रेड कर्नर नोटिस जारी गरिएको थियो । गृह र परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राईलाई फिर्ता ल्याउन २ सातादेखि प्रक्रिया अघि बढाइएको हो ।
कूटनीतिक पहलबारे गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीले भने औपचारिक रूपमा बोल्न मानेनन् । ‘राईविरुद्ध इन्टरपोलले डिफ्युजन र रेड कर्नर नोटिस जारी गरेपछि उनी मलेसियामा लुकेर बसेको पुष्टि भइसकेको छ,’ यस विषयका जानकार एक सरकारी अधिकारीले भने । ‘दुई देशबीच सुपुर्दगी सन्धि नभएको कारण यो विषयलाई मात्रै सम्बोधन हुने गरी नेपाल सरकारले कूटनीतिक पत्र पठाएको खण्डमा मलेसियाले आफ्नो देशमा लुकेर बसेका अभियुक्तलाई फिर्ता पठाउन सहयोग गर्ने प्रतिबद्धता जनाएपछि सोहीअनुसार गरिएको हो,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।
