काठमाडौँ । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले शपथग्रहण गरेका छन् ।
संघीय संसद भवनको ल्होत्से हलमा सोमवार राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् ।
आइतवारदेखि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो ।
रिक्त गत माघ ११ गते २० जनाको पदमध्ये १९ जना निर्वाचनमार्फत निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी नै छ ।
राष्ट्रिय सभामा नयाँ सदस्यहरुमा रुकमिणी कोईराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहरा रहेका छन् ।
