काठमाडौँ । संसदको शुन्य समयमा बोल्ने सांसदहरुले मिटरब्याजी, सहकारी, लघुवित्त र दुग्ध किसानका समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
आइतवार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरुले यस्तो आरोप लगाएका हुन् । सांसदहरुले शून्य समयमा प्रमुख प्राथमिकता मिटिरब्याजी, सहकारी, लघुवित्त र दुग्ध किसानले भुक्तानीलाई राखेका हुन् ।
प्रायः शून्य समयमा सांसदहरुले निर्वाचन क्षेत्रका समस्या उठाउने गरेका थिए । सांसदहरुले सरकारले मिटरब्याजी पीडितका समस्या लामो समयसम्म समाधान गर्न नसक्दा पीडितहरुले पुनः काठमाडौंमा सडक आन्दोलन शुरु गरेको बताएका छन् ।
सरकारले मिटिरब्याजी, सहकारी, लघुवित्त र दुग्ध किसानले भुक्तानी नपाएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराएको बताएका छन् । सांसदहरुले सरकारले सुशासनका ठूला कुरा गरे पनि मिटरब्याजी, सहकारी, लघुवित्त र दुग्ध किसानले भुक्तानीको समस्या करिव एक वर्षदेखि समाधान गर्न नसकेको बताए ।
बैठकको शून्य समयमा बोल्दै सांसद विना लामाले अघिल्लो संसद अधिवेशनमा मिटरब्याजी पीडितलाई उच्च प्राथमिकताका साथ पारित गरे पनि समस्या जहाँको त्यही देखिएको बताइन् । उनले मिटरब्याजी पीडतहरु अहिले पनि लामो समय हिँडेर काठमाडौंमा आएर दुःख भोगिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
उनले सहकारी, लघुवित्त तथा वित्तीय संस्थाहरुबाट पीडितको तत्काल समस्या समाधानमा गम्भीर हुन आवश्यक रहेको बताइन् । उनले भारतीय दुधले बजार पाउने, नेपाली किसानले बेचेको दुधको ६ अर्ब भुक्तानी नपाउनु दुःखद् भएको बताइन् ।
उनले मिटिरब्याजी, सहकारी, लघुवित्त र दुग्ध किसानले भुक्तानी नपाएको समग्र परिस्थितमा पनि सरकार मौन बसेको आरोप लगाइन् ।
