झापा । बर्खा स्मृति प्रतिष्ठानको आयोजनामा झापाको बुद्धशान्ति ३ मा अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता यही फागुन २ गतेबाट फागुन १२ सम्म हुने बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले जानकारी दिए । बुधबार प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानका अध्यक्ष प्रसाईंले क्रिकेट प्रतियोगिताका बारेमा जानकारी दिएका हुन् ।
प्रतियोगितामा झापाका १५ वटै पालिकाका टोली सहभागी हुने उनले बताए । प्रतियोगिताको विजेता टोलीले रु १ लाख र उपविजेता टोलीले रु ५० हजार पाउने उनले जानकारी दिए ।
प्रथम पुरस्कारको राशि प्रतिष्ठान स्वयंले उपलब्ध गराउने दोस्रो पुरस्कारको नगद राशि इन्दिरा फाउन्डेसनले उपलब्ध गराउने प्रसाईंले बताए ।
प्रतियोगिताको अनुमानित लागत १७ लाख रुपैयाँ अनुमान गरिएको छ । प्रतियोगिता बुद्धशान्ति ३ मा पेट्रोल पम्प पश्चिमपट्टिको मैदानमा हुने प्रसाईंले जानकारी दिए ।
पत्रकार सम्मेलनमा उपस्थित बुद्धशान्ति ३ का वडाध्यक्ष तथा बुद्धशान्ति सामाजिक विकास समितिका अध्यक्ष पर्शुराम चेम्जोङले प्रतियोगितालाई सफल बनाउन सबै लाग्नुपर्ने आवश्यकता औंल्याए
पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ बुधबारेका अध्यक्ष चन्द्र उप्रेती, स्थानीय अगुवा प्रेम नेम्बाङलगायतले प्रतियोगिताको सफलताको कामना गरेका थिए । पत्रकार सम्मेलन प्रतिष्ठानका सचिव मदन मगरले सञ्चालन गरेका थिए ।
