झापा । चर्चित भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धामा उत्कृष्ट १० बाट बाहिरिएकी चर्चित गायिका मेनुका पौडेललाई गृहजिल्लामा भव्य स्वागत सम्मान गरिएको छ ।
हल्दिबारी गाउँपालिकाले उनलाई नगदसहित कदरपत्रले सम्मान गरेको छ। हल्दिबारी वडा नं ४ बडावारीकी स्थायी बासिन्दा मेनुकालाई ४५ हजार नगदसहित सम्मान गरिएको हो ।
उनी ‘इन्डियन आइडल’ को आइतबारको दौडबाट बाहिरिएकी थिइन्। सम्मान कार्यक्रममा बोल्दै उनले इन्डियन आइडलको यात्रा टुंगिए पनि जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको बताइन् ।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, ५ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले उनलाई सम्मान गरेका थिए ।
मेनुकालाई सीमावर्ती शहर काँकडभिट्टामा सोमवार सार्वजनिक अभिनन्दनसहित भव्य स्वागत तथा सम्मान गरिएको छ ।
भारतको मुम्बईबाट बागडोग्रा एयरपोर्ट हुँदै नेपाल आउँदै गर्दा उनलाई पूर्वी सीमावर्ती नाका मेची पुल पुगेर उनका समर्थक एवं संगीतप्रेमीहरुले अबिर, खादा र माला पहिर्याएर उत्सव मनाएका थिए ।
उनलाई स्वागत गर्न कोशी प्रदेशका प्रदेशसभा सदस्य छवि चुडाललगायत ठूलो संख्यामा शुभचिन्तक तथा आफन्त नेपाल–भारत सीमामा रहेको मेची पुल पुगेका थिए।
सोमबार नै साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले पनि उनलाई सम्मान गरेको थियो ।


