काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय संरचना तत्काल खारेज हुनुपर्ने बताएका छन् ।
देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गरेर मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संघीय संरचनालाई खारेज गर्नुको विकल्प नरहेको उनको जिकिर थियो ।
आइतवार काठमाडौंमा पार्टीको सक्रिय सदस्यता वितरण अभियानको शुभारम्भ गर्दै अध्यक्ष थापाले संघीय संरचना खारेज गरेर स्थानीय निकायलाई बलियो बनाउँदै सुशासनको माध्यामबाट मुलुकमा आर्थिक विकास र सुशासन हासिल गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको बताए ।
उनले केही वर्ष भित्रमा नै राप्रपा नेपाललाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित हुनेगरी पार्टी काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
त्यसका लागि एक वर्ष भित्र कम्तिमा २ लाख पार्टीको सक्रिय सदस्यता वितरणको काम सम्पन्न गरिसक्नु पर्ने अध्यक्ष थापाको भनाइ थियो ।
उनले पार्टीलाई बलियो बनाउन पनि सक्रिय सदस्यता वितरणको कामलाई पार्टीका नेता, कार्यकर्ताले प्रतिस्पर्धाको रुपमा अघि बढाउनुपर्ने बताए ।
