झापा । झापाका छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ७ स्थित डाँगीबारीमा आइतवार साँझ ६ः५० बजे र गौरादह नगरपालिका वडा नम्बर ४ धरधरेमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।
७ डाँगीबारी स्थित बिजय राजबंशीको टिनको छानो टाटीबेराले बनेको भान्सा घर र बाख्राको गोठमा अचानक आगलागी हुँदा एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको हो ।
आगलागी भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा जानकारी प्राप्त हुने बित्तिकै इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोल, स्थानीय, नेपाल प्रहरी र बिर्तामोड नगरको दमकलको सहयोगमा ७ः४० बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त आगलागीबाट भान्सा कोठामा रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन र गोठ र गोठमा रहेको ७ वटा बाख्रा मध्ये २ वटा जलेर मृत्यु हुँदा एकलाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
त्यसैगरी गौरादहको धरधरेका सोमबहादुर श्रेष्ठले सञ्चालन गरेको टिनको छानो, छानो मुनि काठ लगाएको तारको जाली लगाएको बोइलर कुखुरा फर्ममा कलमा जडान गरेको मोटरमा बिधुत सर्ट भइ अचानक आगलागी हुँदा फर्म, फर्म भित्र रहेको कुखुराको दाना, ७०० थान ३२ दिने कुखुरा समेत जलेर नष्ट भएको छ । उक्त आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी महारानी झोडाबाट खटिएको प्रहरी टोली, स्थानीयबासी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा साँझ ५ः४५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको र दुवै आगलागीमा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
