झापा । झापाको कनकाई नगरपालिकाले कानून नै बनाएर नगर क्षेत्रमा सूर्तीजन्य पदार्थको बिक्री तथा उपभोगलाई निषेध गरे पनि छिमेकी पालिकाहरूमा खुल्ला कारोबार हुने गरेकोमा उक्त कानून कार्यान्वयनमा चुनौती थपिएको छ ।
सूर्तीजन्य पदार्थको सेवनले नगरबासीमा शरीरका विभिन्न भागका क्यान्सर, मुटुरोग तथा अन्य दीर्घ रोग नलागोस् भन्ने आशयका साथ नगरपालिकाले नगर क्षेत्र भित्र सूर्तीजन्य पदार्थको बिक्री तथा उपभोगलाई निषेध गरेको हो ।
नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि अनुगमनका लागि बजार जाँदा निषेध गरिएका सूर्तीजन्य पदार्थ बजारमा प्रशस्तै भेटिने गरेका छन् । नगरबासीको स्वास्थ्यमा जोखिमपूर्ण परिस्थिति नआओस् भनेर कानून नै बनाएर निषेध गरिएको सूर्तीजन्य पदार्थ बिक्री तथा उपभोगलक्षित कनकाई नगरपालिकाको कार्यालयले शुक्रबार बजारको आकस्मिक अनुगमन गरेको थियो ।
बिक्री गर्न राखिएको सूर्तीजन्य पदार्थ अनुगमन टोलीले जफत गर्नुका साथै व्यापारीहरूलाई सचेतसमेत गराएको छ ।

कार्यालयले शुक्रबार बजार अनुगमन गर्ने भनेर कहिँकतै सूचना चुहाएको थिएन । शुक्रबार बिहान करिब साँढे ११ बजेतिर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल नेतृत्वको टोली सोझै कनकाई ७ दुर्गापुर बजार मोडियो ।
सबभन्दा पहिला दुर्गापुर दक्षिणमा रहेको सन्तोष श्रेष्ठको किराना पसलमा टोली पस्यो । त्यहाँ नगरपालिकाले बिक्री बितरण तथा उपभोग गर्न निषेध गरेका सूर्तीजन्य पदार्थ प्रशस्त भेट्यो ।
अनुगमन टोलीलाई श्रेष्ठले भने, ‘यी निषेध गर्नु भन्दा पहिलाका हुन् ।’
टोलीले उनको पसलमा भेटिएका सूर्तीजन्य पदार्थ जफत गर्यो र आइन्दा बिक्री नगर्न सचेत पनि गरायो ।
पसल मालिक श्रेष्ठलाई सचेत गराएर टोली अर्को पसलमा छिर्यो । त्यहाँ पनि प्रशस्तै सूर्तीजन्य पदार्थ टोलीले भेट्यो । त्यहाँ पनि पसलवालालाई प्रमुख प्रशासकीय अधिकृत खरेल नेतृत्वको कर्मचारीको टोलीले पसल सञ्चालकलाई सचेत गरायो । त्यसपछि दुर्गापुरमै एक होटलमा अनुगमन गर्दा होटल सञ्चालकले सूर्तीजन्य पदार्थ लुकाएको टोलीले भेट्यो ।
होटल मालिकले आइन्दा बिक्री नगर्ने वचन दिए ।
कनकाई ८ लक्ष्मीपुरमा अनुगमन गरिएका प्रायः पसलहरूमा सूर्तीजन्य पदार्थ बिक्री गरेको अनुगमन टोलीले पाएको थियो ।
त्यहाँ नगरपालिकाले निषेध गरेको सूर्तीजन्य पदार्थ बेच्न पाउनुपर्छ भनेर व्यापारीले अनुगमन टोलीलाई निकै तनाव दिन खोजे ।
छेउमै वडा कार्यालयबाट निस्केर वडाध्यक्ष लीलाबहादुर कटुवालले नगरले बनाएको कानून सबै नगरबासी तथा व्यवसायीले मान्नुपर्ने बताए ।
उनले भने, ‘अझै धेरै अनुगमन गर्नुपर्छ । बनेको कानून नमानी सुखै छैन ।’
कनकाई नगरपालिकाले चालु आर्थिक बर्षको शुरुवातदेखिनै नगरमा सूर्तीजन्य पदार्थको बिक्री तथा उपभोग निषेध गरेको छ ।
नगरको कार्यपालिका बैठकले नै कानुन बनाएर लागू भइसकेको अवस्था छ ।
नगरवासीको स्वास्थ्यमा जोखिमपूर्ण परिस्थिति नआओस् भनेर बनाइएको कानून तथा त्यसको कार्यान्वयनमा नगरवासीनै सचेत भएको देखिएन ।
तर कानूनको पालना सबै नगरबासीले गर्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल बताउछँन् ।
उनले भने, ‘सूर्तीजन्य पदार्थ बिक्रीको परिमाण हेरेर पाँच हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्मको जरिमाना तोकिएको छ । यो नगरबासीकै लागि हो भनेर सबैले सोचिदिनु पर्छ । तर छिमेकी पालिकाहरूमा हुने गरेको खुल्ला बिक्रीले हामीलाई प्रभाव पारेको छ । अब छिमेकी पालिकाहरूसंग समन्वय गर्नुपर्ने आवश्यकता देखिएको छ ।’
