काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब सिङ्गल डिजिटमा आउने बताएका छन् ।
बुधवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सबको अवसरमा बोल्दै यस्तो बताएका हुन् । गभर्नर अधिकारीले अर्थतन्त्रमा पछिल्लो समय हुँदै आएको सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरुको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको बताए ।
उनले बैंकहरुले अहिले १०.२५ प्रतिशतमा कर्जा दिनुपर्ने अवस्था रहेको बताए । उनले राष्ट्र बैंकले आगामी दिन बैंकहरुको कर्जा प्रवाह बढ्ने अपेक्षाले केही नीतिगत दरहरु घटाएको अवस्था रहेको बताए ।
अर्थतन्त्रमा आएको सुधारको आधारमा राष्ट्र बैंकले लिने नीतिहरु सहज बनाउँदै गएको उनको भनाइ थियो । उनले तत्कालका लागि नेपाली बैंकहरु साना-साना संकटमा अफ्ठ्यारो पर्ने अवस्थामा नभएको बताए ।
नेपाली बैकिङ क्षेत्र सक्षम र बलियो रहेको उनले बताए । बैंकिङ प्रणालीलाई दिगो विकास र सुरक्षित बैंकिङ प्रणालीको रुपमा विकास गर्दै गएको गभर्नर अधिकारीको भनाइ थियो ।
अहिले आर्थिक शिथिलता भइरहेको अवस्थामा रिकभरीमा समस्या भएपनि अन्य तथ्य र तथ्याङ्कहरुले सहयोगले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको उनले बताए ।
