झापा । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको आयोजना हुने भएको छ ।
यसपटक झापा गोल्डकपको छैटौं संस्करण यही फागुन १९ देखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको छ ।
काठमाडौंबाहिर सबैभन्दा बढी फुटवलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हवको रुपमा विकसित गराउन झापा गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । २०७२ सालबाट उक्त प्रतियोगिताको आयोजना गरिराखिएको छ । विगतमा देशभित्र र मुलुकबाहिर पनि घरेलु टिम झापा ११ फुटबल क्लवको विकास र प्रवर्धनसंगै झापा गोल्डकपलाई निरन्तर रुपमा सञ्चालन गर्नका लागि सबैजना सक्रियताका साथ अगाडि बढिरहेको समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।
यो वर्ष झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् ।मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने समितिद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटवल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहनेछ ।
छैटौं संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटवल बेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने समितिले जनाएको छ ।
यो वर्ष पनि खेल सन्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजबंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने समितिका अध्यक्ष बस्नेतले बताउनुभयो। रकम गोल्डकप उद्घाटनको दिन प्रदान गरिने बस्नेतले बताउनुभयो ।
यो प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ।
