झापा । नवीन राप्रपा कार्ययोजनाअन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको बिर्तामोडमा करिव ३ सय जनालाई पार्टी प्रवेश गराएको छ ।
विभिन्न पार्टी परित्याग गरी र कुनै पनि पार्टीमा नरहेकाहरुलाई शनिवार बिर्तामोडमा एक कार्यक्रमका बीच राप्रपामा प्रवेश गराइएको हो ।
प्रवेश गर्नेहरुमा डा. गौरीशंकर झा, गुन्जन थापालगायत रहेका छन् । उनीहरुलाई पार्टी सदस्यता वितरण गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बिर्तामोडमा एक प्रकारको नयाँ जागरण आएको बताए ।

उनले संगठनलाई व्यक्तिको घरदैलोसम्म पुर्याउन केही महिना अघिदेखि नवीन राप्रपा कार्ययोजना संचालन रहेको जानकारी दिए । त्यस योजनाका लागि पार्टीले केन्द्रीय सदस्य डी.बी. थापालाई भूगोल केन्द्रित गरेर बिर्तामोडमा खटाएको थियो ।
अध्यक्ष लिङ्देनले पार्टीमा परिवर्तनका केही संकेतहरु देखिएको बताउँदै अब राप्रपालाई अगाडि बढ्न कसैले पनि छेक्न नसक्ने चेतावनी दिए ।
‘अरु पार्टीहरुले २०८४ को निर्वाचनलाई ताकिरहेका छन् ’ उनले भने, ‘हामी २०८१ मै छिनोफानो गर्नेगरी लागेका छौं ।’
देश ओरालो लागेको, अर्थतन्त्र डामाडोल भएको,उद्योग धन्दा चौपट्ट भएको,रेमिटेन्सले देश चलिरहेको र वैदेशिक ऋण थपिरहेको अवस्थामा सरकार सुधारको प्रयत्न नगरी कमिशनमा लागेको उनले आरोप लगाए ।
६ वर्षअघि रहेको ६ खर्ब वैदेशिक ऋण अहिले बढेर २४ खर्ब पुगेको भन्दै उनले यही आर्थिक वर्षमा २८ खर्ब पुग्न लागेकोमा चिन्ता व्यक्त गरे । प्रत्येक नेपालीको थाप्लोमा ८१ हजार ऋण सरकारले बोकाइदिएको अध्यक्ष लिङ्देनको भनाइ थियो ।
राप्रपाका बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी स्थापनाका लागि योगदान दिने ४२ जना बृद्धबृद्धालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य डी.बी. थापा, जिल्ला सदस्य वेदप्रकाश अग्रवाल, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी जिल्ला अध्यक्ष शारदा रिजाल, राष्ट्रिय प्रजातान्त्रिक मजदुर संगठनका जिल्ला अध्यक्ष गोपाल गुरुङ, सम्मानित व्यक्तित्वहरु भद्रप्रसाद चुडाल, रत्नप्रसाद पोखरेललगायतले बोलेका थिए ।
नगर उपाध्यक्ष राजकुमार प्रसाईले स्वागत गरेको कार्यक्रमको संचालन जिल्ला सदस्य नवीन भट्टराईले गरेका थिए ।
