काठमाडौँ । अबदेखि स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बीमितले उपचार खर्चबापत १० प्रतिशत रकम (सहभुक्तानी) तिर्नुपर्ने भएको छ ।
बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बीमित बिरामीले आफैँले तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बर्सौलाले जानकारी दिए ।
यसअघि बोर्डमा आबद्ध भएकाले कुनै पनि बीमितले उपचार गरेबापत खर्च तिर्नुपर्दैनथ्यो । पाँचजना परिवारसम्म सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सयको योगदान रकम तिरी एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ ।
उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रुपमा सहभुक्तानी प्रणाली लागू गरिएको बताए ।
“बीमितले अनावश्यक रुपमा चिकित्सकलाई दबाब दिएर स्वास्थ्य परीक्षण गराउन थाले,” उनले भने, “त्यसलाई निरुत्साहित गर्नका लागि आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हौं ।”
