धरान । डाक्टर र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा फेरि ठप्प भएको छ ।
आइतबारदेखि सबै काम छाडेर डाक्टर र कर्मचारी नै आन्दोलनमा उत्रिएपछि उपचारका लागि आएका सयौं बिरामी विनाउपचार घर फर्कन बाध्य भएका छन् ।
प्रतिष्ठानको व्यवस्थापन पक्षले बढुवा प्रक्रिया अगाडि नबढाएको भन्दै आइतबारदेखि काम छाडेर डाक्टर र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरु प्रतिष्ठानको उपकूलपति कार्यालय अगाडि धर्नामा बसेका थिए । कर्मचारीहरु बिरामीको पूर्जा काट्ने विल काउण्टर बन्द गरेर तथा डाक्टरहरु बिरामी जाँच्न छाडेर धर्नामा बसेका छन् ।
चिकित्सक र कर्मचारीहरुले एकैसाथ आन्दोलन थालेपछि प्रतिष्ठानको आकस्मिकबाहेकका सबै सेवा ठप्प भएको हो ।
आन्दोलनरत चिकित्सक र कर्मचारीलाई काममा फर्काउन प्रतिष्ठान व्यवस्थापन पक्षले पहल गरेको छैन् ।
प्रतिष्ठानमा कामु उपकुलपति डा. प्रह्लाद कार्कीको कारण प्रतिष्ठानको काम ठप्प हुने अवस्था आएको आन्दोलनकारीले बताएका छन् ।
प्रतिष्ठानको समस्या समाधानमा चासो नदिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सोमबार कायम मुकायम उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।
प्रतिष्ठानलाई धरासायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै उनले तालाबन्दी गरेका हुन् ।
