झापा । झापाको कनकाई मेलामा मेला ठेक्का लिनेहरूले पार्किङ करको नाममा ठगी गरेका छन् ।
सम्बन्धित पालिकाहरु कनकाई र शिवसताक्षी नगरपालिकाले कनकाई माई मेलाका लागि तोकेको दररेट भन्दा मेला संचालकहरुले दोब्बर/तेब्बरबढी रकम असुलेका हुन् ।
कनकाई नगरपालिकाले कनकाई मेलामा पार्किङ गर्नेहरुका लागि साइकल पार्किङ शुल्क रु २०, मोटरसाइकल पार्किङ शुल्क रु ५०, कार, जिप, भेन साना सवारीसाधन पार्किङ शुल्क रु १०० र ठूला सवारी बस, ट्रकसमेतका लागि पार्किङ शुल्क रु २०० दररेट कायम गरेर मेला संचालकलाई संचालनको अनुमति दिएको थियो ।
तर, मेला संचालकले नगरपालिकाले तोकेको दररेटभन्दा दोब्बर/तेब्बरबढी रकम असुलेका छन् । नगरपालिकाले स्कुटर र मोटरसाइकलको लागि ५० रुपैयाँ पार्किङ शुल्क तोकेकोमा मेला संचालकले १०० रुपैयाँ असुलेका छन् भने कार, जिप, भेन , छोटाहात्तीका लागि १०० रुपैयाँ तोकिएकोमा त्यसको तेब्बर ३०० रुपैयाँ शुल्क उठाएका छन् ।
