झापा । झापामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।
घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो । डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपालीसहित छजनाको हात्ती आक्रमणमा ज्यान गएको छभने छजना घाइते भएका थिए । यसैगरी, विसं २०७९ मा सातजनाको मृत्यु र आठजना घाइते भएको उनले बताए ।
सोही अवधिमा छ हात्ती मरेको तथ्याङ्क वन कार्यालयमा रहेको छ । गत वर्ष तीन र चालु आर्थिक वर्षमा तीन गरी छ हात्ती मरेका हुन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ देखि २०८० पुस २० सम्ममा झापामा ५८ जनाको मृत्यु भइसकेको छ । त्यसमा सात गैरनेपाली पनि छन् । एक दशकमा ७५ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ ।
जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने यो सिलसिलाबाट अहिले पनि झापा, मोरङ र सुनसरी आक्रान्त छन् । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्याङ्क उपलब्ध छैन ।
मेचीपारी भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिम बङ्गालको वन्यजन्तु संरक्षण गरिने उक्त जङ्गलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् । त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।
