झापा । झापाको बिर्तामोड २ स्थित चारपाने चोकमा शनिवार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर कन्काई ८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना परी अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
साँझ ६ बजे इलामबाट पिकनिक गएर फर्कँदै गरेको धरान– विराटनगर चल्ने नागरिक यातायातको प्र–०२–००२ख–०१४९ नम्बरको बससंग मे १ प ७२४८ नम्बरको मोटरसाइकल जुधेको थियो ।
पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीनजना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् ।
दुर्घटनामा परी कन्काई ५ का ५९ वर्षीय रबिरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते भएका हुन् ।
माझीको बिर्तासिटी र सिटौलाको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।
प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ ।
