काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने भएको छ ।
शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटा सिटमै उम्मेदवारी दिने निणर्य गरेको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीबाट सिफारिस भइ आएका नामहरुको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निणर्य गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए ।
राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
बैठकले ६ जना नेताहरुलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित पनि गरेको छ ।
प्रदेश कमिटीको अध्यक्षबाट बाहिरिएका कोशी प्रदेशका ५ जना नेताहरु कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, वागमती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी र मधेस प्रदेशको राम अवतार यादवलाई एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
त्यसैगरी लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्ने निणर्य बैठकले गरेको पनि महासचिव पोखरेलले बताए ।
