काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था, नेपाल (इप्पान) ले नेपालमा उत्पादित सबै विद्युत खरिद हुनेगरी भारतसँग विद्युत खरिद सम्झौता गर्न सरकारलाई सुझाव दिएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा १० हजार मेघावाट विद्युत खरिद सम्झौता हुने चर्चा भइरहेका बेला इपानका अध्यक्ष गणेश कार्कीले यस्तो बताएका हुन् ।
कार्कीले नेपालमा उत्पादित जलविद्युत जोसुकैले लगानी गरेपनि त्यसको खरिद भारतले गर्नेगरी सम्झौता गर्न सरकारसँग आग्रह गरे ।
बंगलादेशले पनि भारतको बाटो हुँदै दीर्घकालीन रुपमा विद्युत खरिद गर्न पाउने प्रावधान अनिवार्य रुपमा राख्न पनि सरकारलाई सचेत गराए ।
तत्कालका लागि बंगलादेशले पनि नेपालसँग ५ हजार मेघावाट विद्युत खरिद गर्न चाहेकाले त्यसको पनि सुनिश्चित हुनेगरी सरकारले भारतसँग सो सम्झौता गर्न उपयुक्त हुने अध्यक्ष कार्कीको भनाइ छ ।
उनले भारतसँग विद्युत खरिद सम्झौता गर्दा नेपालमा कुनैपनि देशले विद्युतमा लगानी गर्नसक्ने वातारण बनाउने कुरामा पनि सरकार अडिग रहनुपर्ने बताए ।
नेपालको समृद्धिका लागि सरकारले १० वर्षमा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसका लागि वाह्य लगानी आवश्यक भएको भन्दै त्यसलाई पनि ध्यान दिएर भारतसँग सरकारले सम्झौताहरू अघि बढाउनुपर्ने बताए ।
